बेइजिङको वक्तव्यप्रति अमेरिकी चासो, इन्डो–प्यासिफिक मामिलामा नेपाल सरकारसँग जानकारी माग

समाचार

काठमाडौँ — अमेरिकाले अगाडि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ लाई नेपालले अस्वीकार गरेको भन्ने चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिलाई लिएर अमेरिकाले नेपालको धारणा माग गरेको छ ।‘हामी (यसबारे) नेपाल सरकारका अधिकारीहरूको स्पष्टीकरणको प्रतीक्षामा छौं,’ काठमाडौंस्थित अमेरिकी दूतावासकी प्रवक्ता एन्डी आर्मेन्टले कान्तिपुरसँग भनिन्, ‘बेइजिङस्थित हाम्रो दूतावासलाई पनि हामीले त्यहाँ जारी भएको विज्ञप्तिमा उल्लिखित तथ्यको परीक्षण गर्न भनेका छौं ।’

दुईदिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी फर्किएपछि बेइजिङस्थित विदेश मन्त्रालयले मंगलबार जारी गरेका प्रेस विज्ञप्तिहरूमध्ये एउटामा नेपालले ‘आफ्नो भूमिमा चीनविरुद्ध कुनै गतिविधि हुन नदिन अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिलाई अस्वीकार गरेको’ जनाइएको थियो ।‘नेपाल असंलग्न नीतिलाई दृढताका साथ अंगीकार गर्छ,’ विदेशमन्त्री वाङसँग भेटवार्ताका क्रममा सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले राखेको धारणा उद्धृत गर्दै चिनियाँ विज्ञप्तिमा भनिएको छ,

‘तथाकथित इन्डो–प्यासिफिक स्ट्राटेजीलाई (नेपाल) अस्वीकार गर्छ, चीनको विकासलाई रोक्ने कुनै पनि प्रयासको विरोध गर्छ ।’ चिनियाँ भाषामा जारी गरिएको त्यो विज्ञप्तिबारे दी काठमान्डु पोस्टले बुधबार समाचार प्रकाशित गरेपछि अमेरिकाले नेपाली अधिकारीहरूको आधिकारिक दृष्टिकोण बुझ्न चाहेको हो ।चीनद्वारा जारी विज्ञप्तिमा भनिएझैं नेपालले अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिलाई अस्वीकार गरेको हो भने ‘बेइजिङबाट जारी विज्ञप्तिबाट हामीले नेपालको दृष्टिकोण थाहा पाउनु अचम्मलाग्दो कुरा’ भएको समेत अमेरिकी दूतावासकी प्रवक्ता आर्मेन्टले बताइन् ।

विज्ञप्तिमा हङकङमा जारी आन्दोलनलाई नेपालले चीनको आन्तरिक मामिला मानेको उल्लेख गर्दै त्यसमा आफू बेइजिङले लिएको नीतिका पक्षमा रहेको पनि दाहालले जानकारी दिएको उल्लेख छ ।विदेशमन्त्री वाङले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत सत्तारूढ दलका अध्यक्ष पुष्पकमल दाहाल र विपक्षी नेता शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

बेइजिङबाट जारी अन्य विज्ञप्तिमा नेपाल–चीन सम्बन्धलाई बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को खाकाभित्र रही विकास साझेदारी अगाडि बढाउने कुरो उल्लेख भए पनि दाहालसँगको भेटबारे जारी विज्ञप्तिमा चाहिँ इन्डो–प्यासिफिक रणनीति अस्वीकृत भएको प्रसंग आएको हो । चिनियाँ भाषामा निकालिएको उक्त विज्ञप्तिमा उल्लिखित विवरणलाई काठमाडौंस्थित चिनियाँ दूतावासले बुधबार पुष्टि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *