कास्की–२ मा रवीन्द्र मिश्रको चर्चा किन ?

समाचार

काठमाडौं, २६ भदौ । मंसिरमा उप निर्वाचनको तयारी भइरहेका बेला चर्चामा छ, दिवंगत नेकपा नेता रवीन्द्र अधिकारीले प्रतिनिधि सभाको निर्वाचनमा जीत निकालेको कास्की– २ ।उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, सत्ताधारी नेकपाको दाबी रहनु स्वभाविक भए पनि साझा विवेकशीलका संयोजक रवीन्द्र मिश्रको नाम पनि चर्चामा ल्याउन थालिएको छ ।

नेकपाबाट उपाध्यक्ष बामदेव गौतम अथवा अधिकारीपत्नी विद्या भट्टराईको चर्चा चलिरहेका बेला मिश्रको चर्चा सतहमा ल्याइएको हो । निर्वाचन भएको यत्तिका समय वित्दा पनि सरकार र सदनको काम कारबाहीमा खासै तात्विक भिन्नता नआएका कारण विकल्पको नामबारे चर्चा चुलिएको कतिपय विश्लेषकले बताएका छन् ।

काठमाडौं–१ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएका मिश्रलाई सदन छिर्न हतार भएको कोणबाट कतिपयले अथ्र्याएका छन् । तर, आजको पुस्ताले भने मिश्र जस्ता व्यक्ति सदनमा भए जनताका आधारभूत सवाल उठ्न सक्ने अपेक्षा पनि लिएका छन् ।

तर साझा विवेकशील पार्टीले भने उक्त विषयमा आफ्नो आधिकारीक धारण अहिले नै दिइसकेको छैन । उक्त पार्टीका एक नेता भन्छन्,‘हामी परिस्थिति र माहौललाई मुल्यांकन गरिरहेका छौं । आवश्यक परेको खण्डमा संयोजक रवीन्द्र मिश्रको उम्मेदवारी पनि हुन सक्छ ।’

पार्टीगत भोटबाहेक काठमाडौं–१ मा मिश्रले सिंहविरुद्ध राम्रो मत हासिल गरेका थिए । काठमाडौंमा त्यसबेला बनेको चुनावी ट्रयाक रेकर्डका आधारमा नै कास्कीमा मिश्रको सम्भावना रहेको कतिपयले व्याख्या गरेका छन् ।

‘राजनीतिमा त्यस्ता हुँदैन, दिवंगत नेता रवीन्द्र अधिकारीको लोकप्रियताको मत हो त्यो । नेकपाको मतसँगै अधिकारीको साधगी जीवनको मत पनि थियो । त्यसैले चुनावको मौकामा अरुले दाउ छोप्नु नयाँ कुरा भएन’, नेकपाका एक नेता भन्छन्,‘चुनावी प्रक्रियामा निर्वाचन आयोगमा दर्ता भएका सबै दलका उम्मेदवार हुन पाउँछन् । तर, व्यवाहारिकताका आधारमाचाहिँ नेकपाकै स्थान हो ।’

यता, नेकपा नेता गौतम पनि उठ्ने या नउठ्ने भन्ने विषयमा कुनै निर्णय भएको छैन । पार्टीको महत्वपूर्ण जीम्मेवारी (उपाध्यक्ष) पद दिएका कारण सो क्षेत्रमा रवीन्द्रपत्नी विद्यालाई नै उम्मेदवार बनाउन सकिने कतिपयले अड्कल काटेका छन् ।एक नेता भन्छन्,‘यसबारे त्यसै बेला दुई अध्यक्षहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र सचिवालयको बैठकले निर्णय लिन सक्ला । अहिले नै दाबी गरेर भन्ने अवस्था छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *